२१ साउन, चितवन । निर्माण सुरु गरेको झन्डै ७ वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यति बेला सहज बनेको छ ।
नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्र लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारीचालकहरू एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् ।
गत वर्ष दाउन्नेको बाटोका कारण कतिपयले यही सडकमा रात बिताउनु परेको थियो । वर्षा र चाडपर्वका बेला पूर्वपश्चिम यात्रा गर्नुपर्ने कतिपयले घर जान समेत नसकेको पीडा छ ।
यहाँका ग्यास उद्योगी विमल कालाखेती पछिल्लो साता एक घण्टा ३० मिनेटमा बुटवलबाट नारायणगढ पुगेको अनुभव सुनाउँछन् । सडक सहज र कतै अवरोध नभएको उनको भनाइ छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का उद्योगी प्रकाश आचार्य नारायणगढबाट एक घण्टा ५० मिनेटमा घरमा नै पुगेको बताउँछन् । उनले भने, “परिवारसहित निजी सवारीमा आउँदा निकै छिटो आइयो । विगतका सबै दुःख अहिले सडकले बिर्साएको छ ।”
विगतमा यात्रा गर्दा दाउन्नेमा लामो जाममा पर्ने गरेको स्मरण गर्दै आचार्यले भने, “नारायणगढबाट साँझ ६ बजे हिँडेर भोलिपल्ट बिहान १० बजे घर पुगेको थिएँ ।”
यसरी धेरैपटक दुःख पाएको उनले बताए । अहिले सडक फराकिलो र निकै गुणस्तरीय भएको उनको भनाइ छ ।
बुधबार ९साउन २०० बुटवलबाट दुई घण्टामा नारायणगढ आइपुगेका सञ्चारकर्मी प्रकाश ज्ञवालीले विगतमा यही सडक १२ घण्टाभन्दा बढी समय लगाएर पार गरेको बताए । रुपन्देहीको सैनामैनामा बुवाआमासँग दसैँ मान्न परिवारसहित भरतपुरबाट जाँदा १२ घण्टा सडकमै बिताएको उनले स्मरण गरे ।
उनले भने, “झन्डै सात वर्ष हामीले पीडादायी यात्रा सडकमा भोग्यौँ, हिजो म दुई घण्टामा बुटवलबाट नारायणगढ आइपुगेँ ।”
भरतपुरका एक कर्मचारी आफ्नो निजी गाडीमा नारायणगढबाट एक घण्टा ४४ मिनेटमा बुटवलको चौराहाचोक पुगेको बताउँछन् । बाटोमा दुई ठाउँमा शौच गरेर जाँदा समेत उक्त समयमा पुगेको उनको भनाइ छ ।
यो सडकमा समस्या हुँदा बुटवल–पाल्पालगायत स्थानबाट यात्रु पोखरा हुँदै आउनुपर्ने बाध्यता थियो । कतिपयले कालीगण्डकी करिडोरको बाटो समेत प्रयोग गर्ने गरेका थिए ।
चितवन आउँदा भैरहवाबाट विमानमार्फत काठमाडौं हुँदै पुनः यहाँ आउनेहरू पनि प्रशस्त थिए । कतिपयले भैरहवाबाट पोखरा गएर चितवन आउने गरेका थिए ।
चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बराल पहिलेपहिले रातभरि जाममा बस्नुपर्ने सडक अहिले यात्रु झार्दै र चढाउँदै जाँदा पनि तीन घण्टामा पुगिने गरेको बताउँछन् । उनले भने, “विगतमा यो सडकखण्डमा सवारी सञ्चालन गर्दा दैनिक टुटफुट र मर्मत गर्नुपर्ने बाध्यता थियो, अहिले समस्या छैन ।”
वर्षातको समयमा धेरैले निकै दुःख पाएको यो सडक अहिले सरर्र बनेको छ । नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार, यो बाटोको निर्माण दुई खण्डको ९२ प्रतिशत हाराहारी सकिएको छ । सडक सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्र बाँकी रहेको उनले जानकारी दिए ।
नारायणगढबाट बुटवलको दूरी ११३।३५ किमि छ । यो सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । दुवै ठेक्का एउटै चिनियाँ ठेकेदार कम्पनीले पाएको थियो । करिब १६।९९ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको यो आयोजनामा एसियाली विकास बैंक ९एडीबी०को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण छ । नेपाल सरकारको १५ प्रतिशत लगानी छ ।
चिनियाँ सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको यो आयोजनाको काम विसं ०७५ चैत ८ गतेदेखि सुरु गरिएको थियो । सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि पटक–पटक मिति थपिएको छ । ६५ किलोमिटर लम्बाइको नारायणगढ–दाउन्नेखण्डलाई ‘पूर्वी खण्ड’ भनिएको छ । ४९ किलोमिटर लम्बाइको दाउन्ने–बुटवलखण्डलाई ‘पश्चिमी खण्ड’ भनिएको छ ।
नारायणगढ–बुटवल सडक दुईबाट चार लेनमा विस्तार गरिएको हो । बस्ती भएका ठाउँमा ६ लेन बनाइएको छ । यो विस्तारअन्तर्गत बजार क्षेत्रको २८ किलोमिटर खण्डलाई ६ लेनमा स्तरोन्नति गरिएको छ । अरू क्षेत्रलाई चार लेनमा स्तरोन्नति गरिएको छ ।































