१९ साउन, काठमाडौं । स्वीकृति बिना विदेशी विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई विदेश पठाउने ३ दर्जन बढी म्यानपावर कम्पनी कारबाहीमा परेका छन् ।
वैदेशिक रोजगार विभागले त्यस्ता ३९ वटा कम्पनीलाई जरिवाना तिराएको हो । विभागका अनुसार ती कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार स्वदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई विदेश पठाउनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था कार्यान्वयन गरे–नगरेको विषयमा अध्ययनका निम्ति विभागले ०८२ चैत १ गतेदेखि ०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा पठाएका श्रमिकको उडान विवरण मागेको थियो ।
विवरणमा ती म्यानपावरले अनुमति नलिई भारतबाट उडाएको देखिएकोले कारबाही गरिएको विभागले जनाएको छ । सूचनामा भनिएको छ, ‘विभागको अनुमति नलिई भारतबाट उडान गरेको देखिएकोले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ उल्लंघनको कसुरमा ऐ।ऐनको दफा ५४ बमोजिम प्रत्येक इजाजतवाला संस्थालाई ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।































