Skip

Hamro Sanchar

उपचारमा धेरै पैसा लाग्ने डरले गम्भीर घाइते साथीको हत्या !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २० गते


Advertisement

१९ साउन, काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ मा भएको एक घटनाले सबैलाई स्तब्ध बनाएको छ।

प्रहरीले २० वर्षीय गोविन्द जैसी लाई आफ्नै साथी २७ वर्षीय आशाराम थारू को हत्या गरेको आरोपमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गोविन्दले उपचारमा धेरै खर्च हुने डरले गम्भीर घाइते साथीको हत्या गरेको स्वीकार गरेका छन्।

अनुसन्धान अनुसार साउन १४ गते राति आशाराम, गोविन्द र अर्का एक साथीले सँगै मदिरा सेवन गरेका थिए।

पछि मोटरसाइकलमा फर्किने क्रममा दुर्घटना हुँदा दुवै जना सिँचाइ नालामा खसे। गोविन्दलाई सामान्य चोट लागे पनि आशाराम गम्भीर घाइते भएर सहयोगको याचना गरिरहेका थिए।

प्रहरीका अनुसार त्यही अवस्थामा गोविन्दले नजिकै निर्माणाधीन घरबाट काठ ल्याई आशाराममाथि पटक पटक प्रहार गरेका थिए।

त्यसपछि मोटरसाइकलको साँचोले अनुहारमा प्रहार गरी अन्ततः घाँटीमा रहेको डोरीको माला प्रयोग गरेर घाँटी कसेको बयान दिएका छन्। उनले आशारामको मृत्यु भएको सुनिश्चित गरेपछि शवलाई नजिकैको सिँचाइ नालामा फालेर घटना दुर्घटना जस्तो देखाउने प्रयास गरेको प्रहरीले जनाएको छ।

घटनापछि बेवारिसे अवस्थामा मोटरसाइकल फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सुरुमा गोविन्दले आफू बेहोस भएकाले आशाराम कहाँ गए भन्ने थाहा नभएको बताएका थिए। तर शव फेला परेपछि अनुसन्धानको घेरा साँघुरिँदै जाँदा उनले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गोविन्दविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।


प्रतिकृया दिनुहोस्