Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

निर्मल पुर्जासहित ४ जना पर्वतारोहीको शव आधारशिविरमा ल्याइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २० गते


Advertisement

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका निर्मल पुर्जासहित ४ पर्वतारोहीको शव आधारशिविरमा ल्याइएको छ ।

दिवंगत पर्वतारोही निर्मल पुर्जाका व्यापारिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै यसको पुष्टि गरेका हुन् ।

पाकिस्तानमा उद्धार अभियानको समन्वय गरिरहेका मिङ्माले सामाजिक सञ्जालमा लेखेका छन्, “अत्यन्तै दुःखी हृदयका साथ आज हामी पुष्टि गर्दछौँ कि अत्यन्तै चुनौतीपूर्ण उद्धार अभियानपछि हाम्रा संस्थापक निर्मल ‘निम्स’ पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव ब्रोड पिकबाट सफलतापूर्वक उद्धार गरी सुरक्षित रूपमा आधारशिविरमा ल्याइएको छ ।”

उनले उद्धार अभियानमा सिरबाज खान तथा घटनास्थलमा खटिएका सम्पूर्ण उद्धार टोलीको असाधारण साहस, व्यावसायिकता र निस्वार्थ समर्पणप्रति आभार व्यक्त गरेका छन् ।

उनले भने, “अत्यन्तै कठिन र जोखिमपूर्ण परिस्थितिमा पनि यो अभियान सफलतापूर्वक सम्पन्न गरेकोमा हामी उद्धार टोलीका प्रत्येक सदस्यप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछौँ ।”

यस अभियानलाई सफल बनाउन सहयोग र समन्वय गर्ने पाकिस्तान सेना, पाकिस्तान सरकार, गिल्गित–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अन्य सबै सहयोगी संस्थाप्रति उनले धन्यवाद ज्ञापन गरेका छन् ।

मिङ्माले अझै तीन आरोही बेपत्ता रहेको जानकारी दिए । परिस्थिति सुरक्षित हुनेबित्तिकै उनीहरूको खोजी कार्य जारी राख्ने बताए ।


प्रतिकृया दिनुहोस्