Skip

Hamro Sanchar

सुदूरपश्चिमका सांसदले प्रधानमन्त्रीको अगाडि देखाए यस्ता समस्याहरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १९ गते


१९ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदसँग समसामयिक विकास, सुशासन र क्षेत्रीय मुद्दाबारे छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिलाई संसद्मार्फत जनतासम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलका क्रममा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विकास आयोजना, स्थानीय समस्या तथा सुदूरपश्चिमको राजनीतिक अवस्था र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

उनीहरूले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेती जलविद्युत् आयोजना शीघ्र अघि बढाउन ध्यानाकर्षण गराएका थिए।

यस्तै, भन्सार व्यवस्थापन, आरक्षपीडितका समस्या, हुलाकी सडक निर्माण, किसानका लागि धान खरिद–बिक्रीको व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटान नियन्त्रणलगायत विषयमा पनि सांसदहरूले प्रधानमन्त्रीसमक्ष आफ्ना धारणा राखेका थिए।

भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी, केपी खनाललगायतको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस्