
१५ साउन, सिरहा । गृहमन्त्री सुधन गुरुङ आउने भएपछि सिरहाका मृतक गणेश यादवको घरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
मृतकका छिमेकी र आफन्तले गृहमन्त्रीलाई प्रवेश निषेध गर्ने बताएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको हो । गोली लागेर आफ्ना भाइछोराको मृत्यु भएपछि स्थानीय निकै आक्रोशित छन् ।
गृहमन्त्रीको आगमनअघि अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका जिल्लास्थित अधिकारीहरू मृतकको घर पुगेका छन् ।
सम्भावित परिस्थितिलाई नियन्त्रणमा राख्न उनीहरु गृहमन्त्रीभन्दा अघि नै फिल्डमा पुगेका हुन् ।
सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा बिहीबार औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेशको मृत्यु भएको थियो ।






























