Skip

Hamro Sanchar

सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १३ गते


१३ साउन, काठमाडौं । निर्माणाधीन सेफ्टी ट्यांकीमा फसेर बाँकेको कोहलपुरमा तीन जना मजदुरको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर–३ शान्तिटोलस्थित दयाप्रसाद थारुको घरको आगनमा बुधबार बिहान ९ बजे तीन जना मजदुर फसेका थिए ।

सेफ्टी ट्यांकीमा फसेका उनीहरूको समयमा उद्धार हुन नसक्दा निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतिकसिंह राठौरले जानकारी दिए ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ का ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेको प्रहरी नायब उपरीक्षक राठौरले बताए ।

प्रहरीले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर बिहान दश बजे तीन जनाको शव निकालेको थियो । मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्