
१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमबारे गम्भीर समीक्षा गर्दै सातबुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ।
बैठकले पछिल्ला घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते भएका नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सामाजिक सद्भाव र सहअस्तित्वलाई कुनै पनि हालतमा कमजोर हुन नदिन सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरिएको छ।
कुनै पनि उत्तेजना वा हिंसात्मक गतिविधिमा नलागी शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरिएको छ।
राजनीतिक दलहरूले लोकतान्त्रिक पद्धतिअनुसार सबै असन्तुष्टि र समस्याको समाधान संवाद र सहमतिमार्फत खोजिनुपर्नेमा जोड दिएका छन्।
साथै, प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित पार्टी समितिहरूलाई सक्रिय हुन आग्रह गरिएको छ।
वक्तव्यमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह, भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिबाट सचेत रहन आम नागरिकलाई अनुरोध गरिएको छ।
सञ्चारमाध्यमलाई पनि तथ्यपरक र जिम्मेवार समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ।
साथै, नेपाल सरकारलाई नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन बैठकले गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठकमा सहभागी राजनीतिक दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको रक्षाका लागि एकताबद्ध भएर सरकार तथा समाजसँग सहकार्य गर्दै समस्याको दिगो र शान्तिपूर्ण समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।






























