
११ साउन, काठमाडौं । सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर साउन १ गतेबाट कार्यान्वयन हुने आन्तरिक राजस्व विभागले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले असार महिनाको बिजुलीको बिलमा भ्याटसमेत जोडेको थियो। त्यसलाई लिएर उपभोक्ताले गुनासो गरेपछि आन्तरिक राजस्व विभागले आज प्रस्टीकण दिएको हो।
राजस्व विभागले जारी गरेको सूचनामा असार महिनामा खपत भएको बिजुलीको बिल साउनमा आए पनि त्यसमा भ्याट नलाग्ने जनाएको छ। साउन महिनापछि खपत हुने बिजुलीमा मात्रै भ्याट लाग्ने विभागले जनाएको छ।
विभागले भनेको छ, ‘कुनै उपभोक्ताको सम्वत् २०८३ असार ३२ गतेसम्मको विद्युत् उपभोग खपत वापतको बिलिङ २०८३ साउन वा सोभन्दा पछि भए पनि २०८३ साउन १ भन्दा अगाडि उपभोग खपत भएको विद्युत शक्ति मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची-१ समूह २ आधारभूत आवश्यकताका बस्तुहरूमा विद्युत शक्ति समावेश भएको हुँदा सो अवधिको त्यस्तो सेवा खपतमा मूल्य अभिवृद्धि कर छूट हुने भएकाले मूल्य अभिवृद्धि करण आकर्षित हुने देखिँदैन।’
अब साउन १ गतेबाट मात्रै बिजुलीमा भ्याट लाग्ने विभागले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणले लिने स्वीकृति ट्यारिफअनुसार, विद्युत् खपतमा न्यूनतम चार्ज वा डिमान्ड चार्ज असुल गर्ने रकम समेत विद्युत् सेवा वापत नै भएकोले सम्वत् २०८३ साउन १ गतेदेखि भएको विद्युत् शक्तिको खपतमा न्यूनतम चार्ज वा डिमान्ड चार्जमा पनि मूल्य अभिवृद्धि कर आकर्षित हुने हुँदा द्विविधामा नरहन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।






























