Skip

Hamro Sanchar

बैंककको एक पबमा भीषण आगलागी हुदा २७ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २९ गते


२९ असार, काठमाडौं । उत्तरी बैंककको एक लोकप्रिय पबमा सल्किएको आगोका कारण २७ जनाको मृत्यु भएको छ । ६३ जना घाइते भएको अलजजिराले जनाएको छ ।

“२७ वटा शवर बाहिर निकालिएको छ,” थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानभिराकुलले सोमबार आगलागी भएको घटनास्थलबाटै टेलिभिजनमार्फत टिप्पणी गर्दै भने, “केही मानिसलाई अस्पताल पठाइएको छ, हामी उनीहरूको अवस्थाको जाँच गरिरहेका छौँ ।”

अनुतिनका अनुसार पबमा प्रस्तुति दिइरहेका एक संगीतकारले बताएअनुसार बिजुली बन्द हुनुअघि उनले मञ्चनजिकैको सर्किट ब्रेकरबाट धुवाँ निस्किरहेको देखेका थिए, त्यसपछि ठूलो विस्फोटको आवाज सुनियो र पबभित्र बाक्लो धुवाँ भरियो । धेरैजसो पीडितहरू पबको पछाडि भागमा रहेको शौचालयमा भेटिएको अनुतिनले थपे ।

उद्धारकर्मीहरूले अनलाइनमा सेयर गरेको भिडियो फुटेजमा थाइल्यान्डको राजधानीको उत्तरी भागमा रहेको ‘ना लाडप्राओ’ पबको मुख्य ढोकाबाट आगोको ठूलो लप्का र मुस्लो निस्किरहेको देखिन्छ ।

आकाशमा कालो धुवाँको बाक्लो मुस्लो फैलिरहँदा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिन्थे । उद्धारकर्मीहरूका अनुसार आगलागीको सूचना मध्यराततिर प्राप्त भएको थियो।

आगो नियन्त्रणमा लिन करिब आधा घण्टा लागेको थियो । दुर्घटनापछिका तस्बिरहरूमा जलेका मेच–कुर्सीहरू र पबको क्षतिग्रस्त भित्री भाग देखिन्छ । अलजजिरा


प्रतिकृया दिनुहोस्