Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मध्यपुर्वमा फेरि युद्धको बादल मडारियाे, जहाजमाथि आक्रमण गर्दै होर्मुज जलडमर बन्द गरेको इरानको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २८ गते


Advertisement

२८ असार, काठमाडौं । इरानले आज होर्मुज जलडमरू (स्ट्रेट अफ होर्मुज)अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको छ ।

साथै, अनधिकृत मार्ग प्रयोग गरेको एउटा जहाजमाथि आक्रमण गरी रोकिएको जनाएको छ । इरानले उक्त घटनालाई लिएर कुनै पनि प्रतिकार भए त्यसको ‘कडा जवाफ’ दिइने चेतावनी पनि दिएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आईआरजीसी० नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार समुद्री सुरक्षामा खतरा पुर्‍याउने गरी आफ्नो पहिचान तथा निगरानी प्रणाली बन्द गरेको एक जहाजमाथि प्रहार गरी रोकेको हो । यद्यपि, जहाजको परिचयबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।

आईआरजीसीका अनुसार केही जहाजहरूले अनधिकृत मार्ग प्रयोग गर्दै जलडमरू पार गर्ने प्रयास गरेका थिए । ती जहाजलाई मार्ग परिवर्तन गर्न दिइएको चेतावनी बेवास्ता गरेपछि कारबाही गरिएको दाबी गरिएको छ ।

विज्ञप्तिमा अमेरिकाको ‘हस्तक्षेप अन्त्य नभएसम्म’ र अर्को सूचना जारी नभएसम्म होर्मुज जलडमरू बन्द रहने उल्लेख गरिएको छ । इरानविरुद्ध हुने कुनै पनि आक्रामक गतिविधिको कडा जवाफ दिइने र क्षेत्रमा रहेका ‘शत्रुका नयाँ सैन्य आधार’लाई समेत निशाना बनाइने चेतावनी दिइएको छ ।

यसअघि शुक्रबार अमेरिकी उच्च अधिकारीहरूले इरानले जलडमरू जहाजमाथिका आक्रमण रोक्ने र कुनै शुल्क नलिई सबै समुद्री मार्ग खुला राख्ने सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने माग गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिका र इरानबीच तनाव बढे पनि वार्ता जारी राख्न सहमति भएको बताएका थिए । उनले यसअघि कायम गरिएको युद्धविराम समाप्त भएको घोषणा पनि गरेका थिए ।

रोयटर्सका अनुसार इरान, अमेरिका, कतार र पाकिस्तानबीच वार्ताको पहल भइरहेको छ । मध्यस्थकर्ताहरूले शनिबार वार्ताको प्रयास गरेका थिए । त्यसक्रममा इरानी विदेशमन्त्री अब्बास अराघची ओमानमा रहेका थिए । यद्यपि, ती प्रयास सफल भए वा नभएको स्पष्ट भएको छैन ।

ओमानमा अराघची र ओमानी विदेशमन्त्री सय्यिद बद्र अलबुसाइदीबीच होर्मुज जलडमरूबाट जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने संयन्त्रबारे छलफल भएको इरानी विदेश मन्त्रालयले जनाएको छ । ओमानको सरकारी समाचार संस्थाले प्राविधिक र राजनीतिक तहमा वार्ता निरन्तर जारी रहने जनाएको छ ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको युद्धका कारण खाडी क्षेत्र अस्थिर बनेको छ । त्यसको अन्त्यका लागि ओमानले मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ ।

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति होर्मुज जलडमरूमार्फत हुने भएकाले इरानले प्रभावकारी रूपमा नाकाबन्दी गरेपछि अन्तर्राष्ट्रिय ऊर्जा मूल्य बढेको छ, जसले विश्वव्यापी मुद्रास्फीतिमा थप दबाब सिर्जना गरेको छ ।

सीएनएनका अनुसार ओमानले जलडमरू सञ्चालनसम्बन्धी एउटा प्रारम्भिक प्रस्ताव तयार गरेको छ । प्रस्तावमा ओमानको समुद्री क्षेत्रमा पर्ने दक्षिणी मार्गबाट स्वतन्त्र आवागमनको व्यवस्था गर्ने तथा इरानको समुद्री क्षेत्रमा पर्ने उत्तरी मार्ग प्रयोग गर्नुअघि इरानको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था समावेश छ ।

यद्यपि, कुनै शुल्क नलाग्ने उल्लेख गरिएको छ । यसबारे अमेरिकी ह्वाइट हाउस र विदेश मन्त्रालयले प्रतिक्रिया दिएका छैनन् ।

यसैबीच, कतार र साउदी अरेबियाका तीनवटा व्यावसायिक तेल ट्यांकरमाथि यसै साता आक्रमण भएपछि अमेरिकाले इरानी लक्ष्यमा प्रहार गरेको थियो । त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो ।

इरानी विदेशमन्त्री अराघचीले अमेरिका युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । जहाजमाथिको आक्रमणपछि अमेरिकाले इरानी कच्चा तेल बिक्रीसम्बन्धी अनुमति पनि रद्द गरेको थियो ।

यद्यपि, जहाजमाथिको आक्रमणको जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन । विश्लेषकहरूले भने वार्तामा दबाब सिर्जना गर्न तेहरानले यस्ता गतिविधि प्रयोग गर्ने गरेको बताएका छन् ।

यस घटनाले द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको अन्तरिम सहमतिको भविष्य थप अन्योलमा परेको छ भने तेलको मूल्य फेरि बढेको छ । नोभेम्बरमा हुने अमेरिकी संसदीय निर्वाचनअघि यो ट्रम्पका लागि पनि संवेदनशील विषय बनेको छ ।

ट्रम्पले शुक्रबार आफ्नो ट्रुथ सोसल सञ्जालमा इरानले अमेरिकासँग वार्ता जारी राख्न चाहेको तर अमेरिकाले ‘युद्धविराम समाप्त भइसकेको’ स्पष्ट जानकारी गराएको दाबी गरेका थिए ।

उता, इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीले शनिबार जारी गरेको लिखित सन्देशमा आफ्ना पिता तथा पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त सन्देशमा ‘शहीद नेता र सबै शहीदहरूको रगतको बदला लिने’ उल्लेख गरिएको छ।

यसअघि ट्रम्पले इरानले आफूलाई हत्या गर्ने प्रयास गरे अमेरिकाले हजारौं मिसाइल प्रहार गर्न सैन्य तयारी गरिसकेको बताएका थिए । अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलसहितका संस्थाहरूले इरानले ट्रम्पको हत्या गर्ने योजना बनाएको गुप्तचर सूचना इजरायलले अमेरिकालाई उपलब्ध गराएको दाबी गरेका छन् ।

पूर्वसर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी केही प्रदर्शनकारीले ‘हामी ट्रम्पलाई मार्नेछौं’ लेखिएका ब्यानरसमेत बोकेका थिए ।


प्रतिकृया दिनुहोस्