Skip

Hamro Sanchar

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई चेतावनी : ध्वस्त पारिदिन्छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २७ गते


Advertisement

२७ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूविरुद्ध हत्या गर्न खुला आह्वान गरिएको दाबी गर्दै इरानलाई कडा चेतावनी दिएका छन्।

आज आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले आफूविरुद्ध कुनै पनि प्रकारको आक्रमण वा धम्की कार्यान्वयन गरिए त्यसको कडा सैन्य जवाफ दिइने चेतावनी दिएका हुन् । उनको पछिल्लो अभिव्यक्तिले मध्यपूर्वमा फेरि तनाव बढ्न सक्ने संकेत गरेको छ।

ट्रम्पले आफ्नो सन्देशमा इरानविरुद्ध एक हजार क्षेप्यास्त्र तयारी अवस्थामा रहेको दाबी गर्दै इरानी पक्षबाट आफूविरुद्ध कुनै कदम चालिए तत्काल थप हजारौँ क्षेप्यास्त्र प्रहार गरिने उल्लेख गरे।

उनले आवश्यक परे अमेरिकी सेनाले इरानका विभिन्न क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने दाबीसमेत गरेका छन्।

यसअघि अमेरिका र इरानबीच केही दिनसम्म सैन्य आक्रमण र जवाफी कारबाही भएका थिए, जसका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बनेको थियो।

यद्यपि, ट्रम्पले उल्लेख गरेको आफूविरुद्धको कथित हत्या आह्वानबारे इरानले औपचारिक प्रतिक्रिया जनाएको छैन, र उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।


प्रतिकृया दिनुहोस्