
२५ असार, काठमाडौं । अमेरिका र इरानबीचको सैन्य टकराव झन् हिंस्रक बन्दै गएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि कडा प्रहार गर्नेु चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले बुधबार राति इरानका विभिन्न रणनीतिक क्षेत्रहरूमा दोस्रो चरणको शक्तिशाली हवाई आक्रमण सुरु गरेको हो ।
हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजहरूमाथि बमबारी गरेको बदलामा उक्त कारबाही गरिएको ट्रम्पले बताएका छन्। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जलमार्गमा अन्तर्राष्ट्रिय जहाजहरूको स्वतन्त्र आवागमनमा अवरोध पुर्याउने तेहरानको क्षमतालाई ध्वस्त पार्न यो कदम चालिएको र आक्रमणको जवाफदेहिता इरानले लिनुपर्ने बताएको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार देशको दक्षिणी तटीय क्षेत्र र प्रमुख बन्दरगाह सहरहरूमा भीषण विस्फोटका आवाजहरू सुनिएका छन्।
बन्दर अब्बास सहरमा मात्रै कम्तीमा आठवटा शक्तिशाली विस्फोट भएका छन् । त्यहाँ हवाई रक्षा प्रणाली सक्रिय पारिएको छ। यस्तै सिरिक, जास्क, कोनारक र चाबाहार सहरहरूमा पनि मिसाइल प्रहार भएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच लामो समयदेखि स्वामित्वको विवाद रहेको अबु मुसा टापुमा समेत दुईवटा क्षेप्यास्त्र खसेका छन्।
अमेरिकी हमलाका कारण चाबाहार सहरमा विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ भने बुशेहरमा रहेको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को सैन्य ब्यारेकमा भीषण आगलागी भएको समाचार बाहिरिएको छ।
सैन्य हमलालगत्तै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलु मा लेखेका छन्, यो हिजो इरानले जहाजहरूमा गरेको बमबारीको बदला हो। यदि यस्तो गल्ती फेरि दोहोरिएमा परिणाम योभन्दा धेरै खराब हुनेछ।
एयरफोर्स वानु विमानबाट पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले केही समयअघि मात्र आफूलाई फोन गरेर सम्झौताका लागि मरिहत्ते गरिरहेको दाबी गरे।
तर, इरान सम्झौताप्रति इमानदार रहनेमा आफूलाई विश्वास नभएको र अब कुनै पनि वार्ता गर्नु समयको बर्बादी मात्र हुने उनको भनाइ छ। ट्रम्पले गत जुन १७ मा भएको १४ बुँदे युद्धविराम सम्झौता आधिकारिक रूपमा ुसकिएकोु घोषणा गर्दै इरानी नेतृत्वको आलोचना गरेका छन्।
ट्रम्पको आक्रामक र अपमानजनक टिप्पणीको जवाफ दिँदै इरानका विदेशमन्त्री अब्बास अराक्चीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, हामी अश्लीलताको जवाफ अश्लीलताले दिँदैनौँ, बरु मैदानमा निर्भीकता र अदम्य साहसका साथ कार्य गरेर देखाउनेछौँ। इरानी अधिकारीहरूले अमेरिकी आक्रमणको तत्काल र कडा जवाफ दिइने चेतावनीसमेत दिएका छन्।
मङ्गलबार र बुधबार भएका यी भीषण सैन्य हमलाहरू दुई देशबीच जुन १७ मा युद्धविराम सम्झौता भएयताकै सबैभन्दा खराब र घातक मानिएका छन्।
उक्त सम्झौतामा ६० दिनसम्म युद्ध रोकेर वार्ता अघि बढाउने, हर्मुज जलमार्ग सुरक्षित राख्ने र अमेरिकाले इरानमाथिका प्रतिबन्धहरू खुकुलो पार्ने सहमति भएको थियो। ६० दिनको त्यो अवधि पूरा हुन नपाउँदै दुवै देश पुनः पूर्णकालीन युद्धको सङ्घारमा पुगेका छन्।
यसअघि इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडाहरूमा मिसाइल हानेको थियो। हालसम्म आक्रमणबाट भएको मानवीय क्षतिको पूर्ण विवरण आउन बाँकी भएको बताइएको छ ।






























