
१५ असार, लन्डन । म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गरेका छन् ।
अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दाबीप्रति गम्भीर शङ्का व्यक्त गर्दै उनले सुकी अझै राजधानी नेपिटोस्थित जेलमै रहेको विश्वास व्यक्त गरेका हुन् ।
लन्डनमा क्योदो न्युजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताए ।
उनका अनुसार आफ्नी आमाको अवस्थाबारे बाहिर आएको एकमात्र जानकारी स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएको भन्ने मात्र हो
एरिसले सुकी मुटुसम्बन्धी रोगसँगै उमेर बढ्दै जाँदा देखिने हड्डी कमजोर हुने समस्याबाट पनि पीडित रहेको बताए । उनले आफूले जेलमा बसेका एक पूर्व कैदीबाट सुनेको विवरणका आधारमा सुकी राखिएको स्थानको अवस्था अत्यन्त कठिन र चिन्ताजनक रहेको बताए ।





























