
१४ असार, काठमाडौं । शनिबार स्ट्रेट अफ हर्मुजमा पानामा झन्डा भएको जहाजमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ आक्रमण सुरु गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले इरानका धेरै स्थानलाई निसाना बनाइएको बताएको छ। यो कारबाही व्यापारिक ढुवानीविरुद्ध ‘निरन्तर आक्रामक गतिविधि’को जवाफ भएको सेन्टकमले जनाएको छ।
सेन्टकमले इरानका सैन्य उपकरण, सञ्चार प्रणाली, वायु रक्षा र ड्रोन भण्डारण सुविधालाई निसाना बनाएको बीबीसीले उल्लेख गरेको छ।
सेन्टकमले विज्ञप्तिमा भनेको छ, ‘इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने अवसर दिइएको थियो, तर त्यसले त्यसो गरेन। यसको सेनाले एकतर्फी रूपमा ड्रोनले एमरटी किकुमा आक्रमण गर्यो।’
एमरटी किकु पनामा झन्डा भएको ट्यांकर हो। सेन्टकमका अनुसार ट्यांकर २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेर हर्मुज हुँदै यात्रा गरिरहेको थियो।
इरानले अमेरिकाको पछिल्लो आक्रमणबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन जारी रह्यो भने इरानको अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन्।
उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘युद्धविराम सम्झौताको पुनस् उल्लंघन गरेपछि अमेरिकी विमानले इरानको क्षेप्यास्त्ररड्रोन भण्डारण सुविधा र रडार प्रतिष्ठानमा प्रहार गरेका छन्।’
उनले अगाडि लेखेका छन्, ‘के देखिन्छ भने उनीहरू ९इरान० ले कहिल्यै पाठ सिक्ने छैनन्। त्यस्तो समय आउन सक्छ( सैन्य बल प्रयोग गरेर हामीले सफलतापूर्वक सुरु गरेको कार्य पूरा गर्न बाध्य हुनेछौँ।’
‘यदि त्यसो भयो भने इरानको इस्लामिक गणतन्त्र अस्तित्वमा रहनेछैन।’
हालै मात्र अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।
यो लागु गर्ने विषयमा अमेरिका र इरानबिच यही असार ७ गते स्विट्जरल्यान्डमा पहिलो चरण वार्ता पनि भएको थियो। तर फेरि अमेरिका र इरानबिच लडाइँ सुरु भएको हो।




























