
१९ बैशाख, काठमाडौं । सरकारले रोल्पाको थवाङ गाउँपालिका-१, सल्यापमा २० जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको बताएको छ ।
दुर्घटनाको तीन दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सह-सचिव हेमराज अर्यालले शनिबार एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको हो ।
‘मिति २०८३ वैशाख १७ गते दिउँसो करिब २:५० बजे रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जिप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस हृदयविदार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दाहरूको सक्रियतामा तत्काल उद्धारलाई तीव्रता दिइएको थियो ।’
गत बिहीबार भएको जिप दुुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बताएको छ ।
दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा गठित समितिको समयावधि आज समाप्त हुँदैछ ।
प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविश्यसँग जोडिएको संवेदनशील विषय भएकाले प्राविधिक तथा मानवीय कमजोरी सुधार्न सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता विज्ञप्तिमा व्यक्त गरिएको छ ।














