
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–१ मा विवाद उत्पन्न भएको छ। उम्मेदवार सिफारिसको क्रममा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाममा विवाद भएको हो।
फागुन २१ गते तय भएको निर्वाचनका लागि राप्रपाले उम्मेदवार सिफारिस गर्न क्षेत्रीय कमिटीहरूलाई परिपत्र गरिसकेको छ । सोहीअनुसार संस्थापन पक्षले पुस १ गते नै पूर्वअध्यक्ष पशुपति शमशेर राणा, सह-कोषाध्यक्ष सोभित उप्रेतीलगायतको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । अर्को समूहले फेरि बैठक बसेर रवीन्द्र मिश्रलगायतको नाम सिफारिस गरेपनि विवाद सतहमा आएको हो ।
राप्रपा केन्द्रीय सल्लाहकार समिति सदस्य एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पुस १ गते बसेको क्षेत्रीय कमिटीको बैठकले पूर्वअध्यक्ष पशुपति शम्शेर राणापशुपति शमशेर राणाको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको बताए । उनका अनुसार प्रत्यक्षतर्फ राणासहित शोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम सिफारिस गरिएको छ । संस्थापन पक्षले उप्रेतीलाई उम्मेदवार बनाउने उद्देश्यका साथ सो सिफारिस गरेको बताइएको छ । सोहीअनुसार एकपक्षीय रूपमा मिश्रको नाम नै सिफारिस नगरिएको दाबी गरिएको छ ।
स्रोतका अनुसार काठमाडौँ–१ बाट दुई पटक पराजित भइसकेका मिश्रलाई पाखा लगाएर उप्रेतीलाई उम्मेदवारको रूपमा खडा गर्ने तयारी भैरहेको छ ।
राप्रपामा क्षेत्रीय कमिटीबाट भएको सिफारिसका आधारमा पार्टीको संसदीय समितिले टिकटबारे अन्तिम निर्णय गर्ने व्यवस्था छ ।
विवादकै बीच मिश्रले पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर राणाको भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि थप तरंग सिर्जना भएको छ। मदनदास श्रेष्ठका अनुसार उक्त भिडियोमार्फत क्षेत्रीय कमिटीको निर्णयलाई चुनौती दिइएको हो।
‘हामीले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएका उम्मेदवारबारे म सहितको उपस्थितिमा ११ जना सदस्यले गरेको स्पष्ट निर्णय सार्वजनिक गरिसकेका छौं। रवीन्द्र मिश्र सिफारिसमा परेका छैनन्,’ श्रेष्ठले भने, ‘मिश्रको नाम सिफारिस भएको भनिएको पत्र मितिदेखि नै गलत र कीर्ते देखिन्छ।’
उनका अनुसार पहिलो नम्बरमा सिफारिस भएका पशुपति शमशेर राणाले उम्मेदवार नबन्ने निर्णय गरेमा दोस्रो नम्बरमा रहेका शोभित उप्रेती स्वतः उम्मेदवार बन्ने दाबी गरिएको छ।
यस विषयमा विवाद बढेपछि सोमबार मिश्रले पशुपति शमशेर राणाको भिडियो आफैंले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।















