Skip

Hamro Sanchar

महामन्त्रीमा पुनः उम्मेदवारी दिने घोषणा गर्दै पौडेलले भने : महाधिवेशन गरेर मात्र चुनावमा जानुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ८ गते


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५ औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर मात्र पार्टी आगामी निर्वाचनमा होमिनुपर्ने धारणा राखेका छन्।

आज सञ्चारकर्मीहरूसँगको विशेष कुराकानीका क्रममा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि नै पार्टीको आन्तरिक महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिएका हुन्।

जेनजी आन्दोलनको भावना र युवा पुस्ताको चाहनाअनुसार पार्टीलाई नयाँ नीति र ऊर्जासहित अगाडि बढाउन नेतृत्व परिवर्तन अनिवार्य रहेको उनको तर्क छ।नेता पौडेलले कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको स्मरण गराउँदै यसलाई तोकिएकै समयमा सम्पन्न गर्न युद्धस्तरमा जुट्नुपर्ने बताए।

यद्यपि, वर्तमान कार्यतालिका केही अव्यवहारिक देखिएकाले यसमा सामान्य हेरफेर हुन सक्ने भए पनि आमनिर्वाचनभन्दा अगाडि नै महाधिवेशन हुनुपर्ने अडानबाट पछि हट्न नहुने उनले प्रस्ट पारे। उनले संसद् पुनःस्थापनाभन्दा पनि समयमै निर्वाचन हुनु नै लोकतान्त्रिक पद्धति र आन्दोलनकारी युवाहरूको माग भएको समेत उल्लेख गरे।

पार्टी सभापति शेरबहादुर देउवाले पनि समयमै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न चाहेको जानकारी दिँदै पौडेलले आफूले आगामी महाधिवेशनमा पुनः महामन्त्री पदमै उम्मेदवारी दिने घोषणा गरेका छन्। १४ औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी रहेका उनले यस पटक थप तयारीका साथ मैदानमा उत्रिने बताए।

सरकारले फागुन २१ को निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउनका लागि तत्काल आवश्यक वातावरण निर्माण गर्नुपर्ने माग गर्दै उनले कांग्रेस नयाँ नेतृत्वका साथ चुनावी मैदानमा जाँदा जनताको विश्वास झन् बढ्ने दाबी गरे ।


प्रतिकृया दिनुहोस्