
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले दलित भन्ने शब्दलाई नेपालले संवैधानिक र कानुनी रूपमा नै मान्यता दिइएकामा असन्तुष्टि जनाएका छन् ।
आज सिंहदरबारमा राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले सोहीअनुसार विदेशी सहयोग मागिने गरेको बताए ।
उनले भने, “संविधानमा दलित समुदाय छन् र उत्पीडित छन् भन्यौँ । अमेरिकामा गएर यही भन्छौँ र सहयोगको कुरा गर्छौं । यसरी अन्त्य हुन्छ विभेद ?”
विभेद गर्नेको सम्पत्ति जफत र कारावासको सजाय गरिनुपर्नेमा उनले जोड दिए । व्यवहार सुध्रनुपर्ने र त्यसनिम्ति कडा कानुन बनाउनुपर्ने उनको भनाइ थियो ।
“दलित भनेर भेदभाव गर्नेको सम्पत्ति जफत गरौँ र आजीवन कारावासको सजाय गरौँ,” उनले भने, “आजीवन कारावास पूरा भुक्तान गर्नुपर्ने गर्नुपर्छ, छुटसुट नहुने गरी ।”


















