
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको टिप्पणी गरेका छन् । शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनमा ओलीले भण्डारीको पार्टी सदस्यताको विषय महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल नै हुन नसक्ने बताए ।
उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषय कमिटीगत छलफलको विषय भएकाले सोही ठाउँमा त्यस विषयसँग छलफल हुने बताए । पार्टीमा कतिपय कुरा अनावश्यक ढंगले अघि बढाउन खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई विधान महाधिवेशनको छलफलको विषय भन्न नसकिने स्पष्ट पारे । उनले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा छलफल केन्द्रित हुने पनि बताए ।
ूविधान महाधिवेशनको बेला केही विषयहरू अनावश्यक ढंगले अघि बढाइएका छन् । ती कुराहरू विधान महाधिवेशनसँग सम्बन्धित छैनन् । ती विषयहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन् । ती स्थायी कमिटी वा केन्द्रीय कमिटीमा छलफलका विषय बनाउँछौँ । विधान महाधिवेशनमा विधानको विषयमा केन्द्रित भएर छलफल हुन्छ,उनले भने ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । प्रधानमन्त्री ओलीले सोही कार्यसूचीमा केन्द्रित भएर विधान महाधिवेशनमा छलफल हुने बताए ।


















