
काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मंगलबार (आज)बागमती प्रदेशको मुख्यमन्त्री बन्दै छन्।
सोमबार नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्ति गर्ने तयारी गरेका हुन्।
बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि बानियाँ नयाँ मुख्यमन्त्री बन्न लागेका हुन्।
उनले एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि सोमबार दाबी पेस गरेका हुन्।
अब आज उनलाई मुख्यमन्त्रीमा नियुक्ति गरिने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
बानियाँले आजै साँझ पद तथा गोपनीयताको शपथ लिने तयारीसमेत रहेको बताइएको छ।
उनले शपथ खाएपछि अन्य विभिागीय मन्त्री नियुक्ति प्रक्रिया थालिने एक प्रदेश सांसदले जानकारी दिए।
बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ मन्त्रालय छन्।
दुई दलीय गठबन्धन सरकारमा यसअघि अनुसारै कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ मन्त्री नियुक्ति हुनेछन् ।














