Skip

Hamro Sanchar

वास्तविक भूमिहीन दलित-सुकुम्बासीलाई ३० दिनभित्र लालपुर्जा वितरण गर्छौं- नगरप्रमुख कार्की

प्रदिप नेपाली प्रकाशित : २०८२ साउन, १७ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले प्रक्रिया पुरा गरेर वास्तविक भूमिहीन दलित-सुकुम्बासीलाई ३० दिनभित्र लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार नगरपालिकामा भएको भुमि समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्कीले अन्य छोडेर प्रक्रिया पुरा गरेर वास्तविक भूमिहीन दलित-सुकुम्बासीलाई ३० दिनभित्रै लालपुर्जा वितरण गर्ने बताएका हुन् ।

सुकुम्वासी समस्या दिगो रूपमा समाधान गर्ने गरी सरकार अगाडी बढेको उल्लेख गर्दै प्रमुख कार्कीले सरकारको कामलाई नागरिकहरूले साथ दिनुपर्ने बताए । राष्ट्रिय भूमि आयोगको नीति तथा नियम अनुसार जनताको समस्या समाधान गर्न आफुहरु लागि परेको भन्दै प्रमुख कार्कीले काठमाडौं जिल्लामै पहिलो पटक सार्वजनिक सूचना निकालेर समस्या समाधान गर्न खोजेको स्मरण गराए । उनले भने, ”यो जनताको समस्या हो, राज्यले एउटा नीति लिएको छ । राजनीतिक दलले सधैं चुनावी नारा बनाएर हिड्नु नपरोस् भनेर काठमाडौं जिल्लामै पहिलो पटक हामीले सूचना निकालेर सुरुवात गरेका थियौं । पछी भुमि समस्या समाधान आयोगमा पदाधिकारीहरु परिवर्तन भैरहने हुनाले अल्झिरह्यो । तर अहिले प्रक्रिया समाधान गर्नेतर्फ अघि बढेको छ । प्रक्रिया पुरा गरेर वास्तविक भूमिहीन दलित-सुकुम्बासीलाई ३० दिनभित्र लालपुर्जा वितरण गर्छौं । त्यसमा नागरिकले पनि साथ दिनुपर्यो ।”

नक्कली सुकुम्बासी, अव्यवस्थित बसोबासी हुँ भन्दै दाबी गर्ने र त्यसको नाममा ब्यापार गर्नेहरुले समस्या खडा गरेको दाबी गरे । वास्तविक सुकुम्बासी जो हो उसले पनि जग्गा वितरण कार्यमा सहयोग गर्नुपर्ने प्रमुख कार्कीको भनाई थियो ।

“जो मान्छे सुकुम्बासी नै होइन । आफुलाई सुकुम्बासी दाबी गरेर सरकारी जग्गा हडपेर व्यापार गर्नेहरुले समस्या खडा गरे । जथाभावी टहरा बनाउने अनि त्यसैलाई किनबेच गर्ने गरेका छन् । त्यस्ताहरुलाई त जो वास्तविक सुकुम्बासी हो, उसले चिन्नु पर्यो अनि लखेट्न सहयोग गर्नुपर्यो । छिमेकी हो उसलाई सुकुम्बासी हो भन्दा के जान्छ र जग्गा हामीले दिने होइन भन्दिदा वास्तविक सुकुम्बासीका समस्या समाधान गर्न गाह्रो भैरहेको छ ।” नगरप्रमुख कार्कीले भने ।

वडा तहमा सार्वजनिक सुनुवाई गरेर सर्वदलीय समितिको निर्णयसहितको वडाबाट सिफारिस भएर आएपछी हामी निवेदन आएकाहरुका नाममा ३ पुस्ते हेरेर अन्यत्र जमिन छ या छैन यकिन गर्न मालपोत कार्यालयलाई पत्राचार गर्ने स्पष्ट पारे । ‘त्यो जमिन उनीहरूले पहिलेदेखि भोगचलन गर्दै आएको हो कि होइन, अन्यत्र जमिन छ या छैन पनि यकिन गर्छौं,’ कार्कीले भने, ‘त्यसपछि आयोगले कसलाई कुन स्थान र कति जमिन दिने भन्नेबारे निर्णय गर्छ ।”

कागेश्वरी मनोहराले भूमिहीन दलित-सुकुम्बासीको वडा लगत सङ्कलन गरिसकेको छ । जसमा भूमिहीन सुकुम्बासी १ सय ३४, भूमिहीन दलित ४७ र अव्यवस्थित बसोबासी १ सय ११ जनाले निवेदन दिएका छन् । निवेदन दिएकाहरुको कम्प्युटरमा इन्ट्री भैसकेको छ ।


प्रतिकृया दिनुहोस्