
काठमाडौं । दक्षिण कोरियाले कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख बराबरको २ वटा प्लास्टिक रिसाइक्लिङ्ग मेसिन उपहार स्वरूप दिने भएको छ ।
कोरियाले प्लास्टिकका बोतलहरु (बिशेषगरी पानीको बोतल, जुसको बोतल)हरुलाई व्यवस्थापन गर्ने नेपाली ३० लाख रुपियाँका २ वटा मेसिनहरु उपहार स्वरूप प्रदान गर्ने भएको हो ।
कोरिया फेसन डिजाइन व्यावसायिक तालिम केन्द्र तथा कोरिया रोजगार सहयोग केन्द्र अन्तर्राष्ट्रिय अध्यक्ष, प्रतिष्ठित प्राध्यापक योसेप काङ र सियोल जाङसिन विश्वविद्यालय विदेशी सहयोग एजेन्सीका प्रोफेसर सुङसुक चोले नगरप्रमुख उपेन्द्र कार्की, उप-प्रमुख शान्ता थापा, प्रमुख प्रशाकीय अधिकृत हरिराम नागिलासहित नगरका इन्जीनियर सम्मिलित शुक्रबारको बैठकमा सो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
पहिलो चरणमा एउटा मात्र मेसिन दिने तयारीका साथ आएका उनीहरुले नगरप्रमुख कार्कीको आग्रहलाई सुनेर २ वटा मेसिन प्रदान गर्न सहमत भएका थिए । कोरियाका लागि नेपाली अनुवादक आशिस श्रेष्ठकाअनुसार उक्त मेसिन छिट्टै उपलब्ध हुनेछ ।
मेसिन प्रदान गरेपछि उनीहरुले पहिलो पटक मेकानिक ल्याएर प्रयोग गर्ने तरिका, बिग्रिएमा त्यसको मर्मत सम्भार गर्ने, मेसिनबाट बनेको प्लास्टिकको धुलो कसरि निकाल्ने भन्ने बारे तालिम दिनेछन् । त्यसपछिको अवस्थामा नगरपालिका आफैले त्यसको संरक्षण र रेखदेख गर्नुपर्नेछ ।
उक्त मेसिनमा पीपी बोतल राख्ने बितिक्कै अटोमेटिक धुलो बनाएर बाहिर निकाल्ने गर्न भने उक्त धुलोबाट प्लास्टिकका अन्य सामग्रीहरु बनाउन सकिने र अन्य आर्थिक आम्दानी पनि गर्न सकिने बताइएको छ ।
प्लास्टिक रिसाइक्लिंगले प्रदूषण कम गर्न र स्रोतहरूको संरक्षण गर्न मद्दत गर्ने, प्लास्टिकलाई फ्याँक्नुको सट्टा पुन: प्रयोग गरेर पैसा बचत गर्न सकिने, पुनर्चक्रणले बालबालिकालाई वातावरण संरक्षणको महत्त्व सिकाउन सहयोग पुग्ने बताइएको छ ।
कार्यक्रममा नगरप्रमुख कार्कीले नेपाल–कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको प्रारम्भदेखि नै अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारीलगायत विभिन्न क्षेत्रमा पारस्परिक सहयोग आदानप्रदान निरन्तर वृद्धि हुँदै आएको भन्दै आगामी दिनमा पनि आपसी साझेदारीमा आधारित कार्यक्रममार्फत घनिष्ठ सम्बन्ध थप प्रगाढ हुने र द्विपक्षीय सम्बन्धले नयाँ उचाइ चुम्ने विश्वास व्यक्त गरे ।
यस्तै नगरप्रमुख कार्कीले उपहार स्वरूप प्राप्त मेसिनबाट नगरबासीले आर्थिक लाभ प्राप्त गर्नुका वातावरण सफा र स्वच्छ राख्न सहयोग पुग्ने बताए ।
यस्तै कार्यक्रममा प्रतिष्ठित प्राध्यापक काङ र सियोल जाङसिन विश्वविद्यालयका प्रोफेसर चोले कागेश्वरी मनोहरा नगरपालिकाले सिफारिस गरेको खण्डमा नेपाली विद्यार्थीहरुलाई आफुहरुको विश्वविद्यालयमा छात्रवृत्तिमा पढाउने बताए ।