
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा पार्टीको तर्फबाट समस्या नरहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जस्तै छोडेर गएमा भने केही नलाग्ने उनको भनाइ छ ।
सभापति देउवाले आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा गठबन्धनबारे ब्रिफिङ गर्दै अहिलेसम्म प्रधानमन्त्री ओली र नेकपा एमालेसँग आफू र नेताहरूको कुनै पनि विषयमा खटपट नभएको बताएको एक पदाधिकारीले बताए ।
देउवाले कांग्रेसले २०७९ को निर्वाचनपछि प्रचण्डलाई नछोडे पनि आफै छोडेर गएको र अहिले पनि ओलीले त्यस्तै गरी छोडेर गएमा केही नलाग्ने ब्रिफिङ गरेको ती पदाधिकारीले बताए ।
सत्ता गठबन्धनबारे गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखकले पनि सत्ता गठबन्धनबारे ब्रिफिङ गरेका थिए । गृहमन्त्री लेखकले राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर गठबन्धनमा समस्या भएको भनेर हल्ला चले पनि सत्य त्यस्तो नभएको बताएका थिए ।