
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ५ बासुदेवपट्टी विष सेवनबाट ३ बालबालिकाको मृत्यु भएको छ।
विष सेवनबाट सुशिल साहका ६ वर्षीय छोरा आदित्य साह तथा छोरीद्वय ४ वर्षीया आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो । विष सेवनबाट सुशिलकी ३० वर्षीया श्रीमती पविता साह सिकिस्त छन् ।
ईलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार सोमबार साँझ ६ः४० बजे आमा र तीनै छोरा-छोरी विष सेवन गरी घरमै बेहोस भएको अवस्थामा फेला परेको थियो ।
‘हामीलाई खबर भएपछि तत्कालै घटनास्थल पुग्यौं’, प्रहरी निरीक्षक यादवले भने, ‘हामी पुग्दा उनीहरुलाई अस्पताल लगिसकेको थियो । प्रादेशिक अस्पताल जनकपुरधामले तीनै छोरा–छोरीको मृत्यु भएको पुष्टि गर्यो । आमा पविताको उपचार अहिले पनि भेन्टिलेटरमा भइरहेको छ ।’
आमाले नै छोरा–छोरीलाई विष खुवाएको र आफैं पनि विष खाएर आत्महत्या गर्न खोजेको प्रहरीको अनुमान छ । प्रहरी निरीक्षक यादवले भने, ‘पविताको उपचार भेन्टिलेटरमा भइरहेकाले सोधपुछ गर्न पाएको छैनौं । उनका श्रीमानले उपचार गराइरहेका छन् । उनले पनि विवादबारे केहि बताउन चाहेका छैनन् ।’
पविताका श्रीमानका सुशिल तीन दाजुभाई छन् । उनका सासु–ससुरा पनि घरमै बस्छन् । तर पविता र तीन छोरा–छोरीले कसरी विष सेवन गरेको विषयमा उनीहरु पनि केही खुलाउन नचाहेको प्रहरी निरीक्षक यादवले बताए । उनले पविता होसमा आएपछि मात्र कारण खुल्ने देखिन्छ– उनले भने ।
मृतक तीनै छोरा–छोरीको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममै राखिएको छ ।