Skip

Hamro Sanchar

प्रचण्डको दाबी : क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै वर्तमान संकट हल गर्न सक्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ९ गते


काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा शुभकामना सन्देश जारी गरी उनले प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर निरंकुशतातर्फ लैजान खोजेको बताएका हुन्।

‘कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य गर्दै समावेशी, धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएका छौँ’, सन्देशमा उनले भनेका छन्, ‘यतिखेर एक थरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दै छन्।

उनले मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्ने दाबी गरेका छन्। ‘पुँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको आजको विश्वमा लेनिनको विचार र उहाँले देखाएको बाटो अझ सान्दर्भिक र आवश्यक बनेको छ। मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छ’,उनले भनेका छन् ।

 


प्रतिकृया दिनुहोस्