Hamro Sanchar

प्रधानमन्त्रीको टिप्पणी : हतियार उठाएर हिंसा मच्चाउनेहरूले संविधान मास्न खोजेको आरोप लगाउँदैछन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २१ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्चाउने व्यक्तिहरूले संविधान मास्न खोजेको आरोप लगाउने गरेको टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेका कारण मुलुकमा संविधान निर्माण भएको जिकिर गरे ।

मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरूको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको प्रमको भनाइ छ । मानव अधिकारको पक्षमा बोले अमानवीय तवरले धम्की आउने गरेको भन्दै उनले मानव अधिकारविरुद्धको असामाजिक क्रियाकपाल सह्य नहुने प्रष्ट्याए ।

प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लङ्घन हुन नदिन र कानूनी शासनको पालना गर्नमा विशेष महत्व दिने धारणा राखे ।

नेपाली जनतालाई सुखी र समृद्ध बनाउनका लागि यथार्थरूपमा मानव अधिकार स्थापित हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको ओलीको भनाइ छ । उनले नेपालले मुत्युदण्डको सजायको व्यवस्था नअपनाउने स्पष्ट गर्दै दोषका आधारमा कडा भन्दा कडा सजाय दिन सकिने बताए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) द्वारा स्थापित एक लाख राशीको मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको थियो ।


प्रतिकृया दिनुहोस्