
काठमाडौँ, पुस १६- कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित मुलपानीमा पुस १३ गते १० बजे राति अर्जुन श्रेष्ठको घरमा प्रवेश गरेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर घएका ३७ वर्षीय साहिर शंकरले गोली प्रहार गरे । शंकरले अर्जुन र उनकी पत्नी शान्तिदेवी श्रेष्ठमाथि गोली प्रहार गरेका हुन् ।
श्रेष्ठ परिवार र छिमेकीले प्रतिकार गर्दा शंकर पनि घाइते भएका छन् । अर्जुनको कम्मर भन्दा तल्लो भागमा र शान्तिदेवीको गाला र घाँटीमा गोली लागेको छ । अहिले तीनैजनाको उपचार हुँदै छ ।
व्यक्तिगत र पारिवारिक रिसइबीका कारण शंकर पेस्तोल लिएर त्यहाँ पुगेका थिए । शंकर चिनजानकै मान्छे भएको र श्रेष्ठ दम्पतीसँग १ घण्टा जति कुराकानी बुझिएको घटनास्थलमा पुगेकी वडा सदस्य सुनिता बोगटी बिसुन्केले हाम्रोसंचारलाई जानकारी दिइन् । शंकरले कुराकानीकै क्रममा एक्लै भएको मौका छोपी पहिले शान्ति देवीमाथि गोलि प्रहार गरेका थिए । त्यसपछि अर्जुनमाथि गोलि चलाएको बताइएको छ ।
आरोपीको पनि उपचार भइरहेको हुनाले बयान लिन नपाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
दम्पतीमाथि गोली प्रहार गर्न शंकरले भारतको बिहारबाट ६० हजारमा पेस्तोल खरिद गरेको प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘बिहारबाट पेस्तोल किनेर ल्याएको हुँ ।’
त्यसबाहेक शंकरले थप कुरा बताएका छैनन् । प्रहरीले शंकरको साथबाट एउटा पेस्तोल, ९ राउण्ड गोली, खुकुरी लगायत सामान बरामद गरेको छ ।
मुलपानीस्थित रिद्धिसिद्धि बसपार्क नजिकै घर भएका अर्जुन श्रेष्ठ भूपू सैनिक हुन् । अर्जुनको ट्रमा सेन्टर र पत्नी शान्तिदेवीको सैनिक अस्पतालमा उपचार हुँदै छ । पछिल्लो समय बिहारमै बस्न थालेका शंकर यसअघि मुलपानीमा बस्दै आएका थिए ।
पेस्तोल लिएर नेपाल आएपछि उनले गेस्ट हाउसमा बसेर दम्पतीलाई गोली प्रहार गर्ने योजना बनाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आरोपीबिरुद्ध प्रहरी वृत्त बौद्धले हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको छ ।
श्रेष्ठ दम्पती अस्पतालबाट डिस्चार्ज भएपछि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी लिएर मुद्दा अघि बढाइने एसपी अधिकारीले बताए । उनले भने, ‘अहिले हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्दै छौँ, पीडितको जाहेरी लिएर ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा अघि बढाउँछौँ ।’
यो पनि पढ्नुहोस्- मुलपानीमा एक दम्पतीमाथि गोली प्रहार, पेस्तोलसहित एक जना पक्राउ