काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीको पक्षमा सकारात्मक नतिजा आउने दाबी गरेको छ ।
मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सो निष्कर्ष निकालेको हो ।
स्थानीय तह उपनिर्वाचनबारे देशभर रिपोर्ट लिने काम गरेको र सकारात्मक नतिजा पार्टीको पक्षमा आउने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बागमती प्रदेशको उपनिर्वाचनमा जित हुने माओवादी केन्द्रको जिकिर छ । बैठकले पालिका सम्मेलन र पार्टीको खबरदारी सभाका लागि योजना बनाउन एक कार्यदल पनि बनाएको छ ।
प्रवक्ता सापकोटाले भने, ‘उपचुनावको देशभरि रिपोर्ट लिइयो । अहिलेसम्म सकारात्मक भन्ने छ । अव कतिपय ठाउँमा जित सुनिश्चित जस्तै छ ।’
पार्टीले सरकारको विरोधमा जनदबाब सृजना गर्न देशभर पालिकास्तरसम्म खबरदारी सभा गर्ने घोषणा गरिसकेको छ ।