काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनबाट विद्युत आपुर्ति लिएका उपभोक्तालाई बक्यौता तिर्न १५ दिनको समय दिएको छ।
बिहीबार प्राधिकरणले सूचना जारी गर्दै त्यस्ता उपभोक्तालाई १५ दिनभित्र बक्यौता तिर्न आउन भनेको हो।
विद्युत महशुलको बक्यौता नतिरेको भन्दै प्राधिकरणले विभिन्न उद्योगमा लाइन काटेको थियो।
मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले लाइन काटिएका उद्योगहरूमा एक साताभित्र लाइन जोडिसक्न प्राधिकरणलाई निर्देशन दिएको थियो। साथै १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि बैठकले गरेको थियो।
त्यसपछि कात्तिक २७ गते प्राधिकरणको सञ्चालक समितिको बैठक बसी सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेपछि उद्योगहरूमा लाइन जोडिएको थियो।
मन्त्रिपरिषद् बैठक र सञ्चालक समितिको निर्णयअनुसार नै १५ दिनभित्र तिरिसक्न प्राधिकरणले त्यस्ता उपभोक्ताहरूलाई आग्रह गरेको हो।
सोही अनुरूप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी-वान, टि-टु र टि-थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला। अतः उक्त बिल अनुसारको बक्यौता महशुल १५ दिन अर्थात २०८१ मंसिर १२ गते भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ,ु सूचनामा भनिएको छ।
तोकिएको समयमा बक्यौता महशुल भुक्तानी नभएमा नियमानुसार भइजाने पनि प्राधिकरणले जानकारी दिएको छ।
मंगलबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिन भित्र बक्यौता तिर्न नआए पुनः बिजुली काटिने बताएका थिए ।