Hamro Sanchar

कात्तिक २५ गते अजरबैजान जाँदै राष्ट्रपति पौडेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २१ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २५ गते अजरबैजान जाने भएका छन् ।

अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका हुन् ।

राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।

सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयमा उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमध्ये पर्छ ।

बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ ।

नेपालका तर्फबाट सम्मेलन प्रस्तुत गर्ने ‘एजेण्डा’ बारे विभिन्न तहमा तयारी भइरहेको बताइएको छ । सम्मेलन यही कात्तिक २६ सुरु भइ मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा सहभागी भइ राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।


प्रतिकृया दिनुहोस्