काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् ।
कांग्रेस भक्तपुरले शनिवार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका हुन् ।
सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने उनले बताए । त्यस्तै सभापति देउवाले एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरू खुसी रहेको धारणा राखे । अहिलेको सरकारलाई पुरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।
त्यस्तै देउवाले कुनै पनि क्षेत्र समस्या विहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरू पनि समाधान गर्न लाग्नुपर्ने जिकिर गरेका छन् ।