काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका नेताहरूलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधवार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीका कार्यकर्ताहरूलाई पार्टी फुट्छ की भन्ने चिन्ता नलिन आग्रह गरे।
अब फुटेर गएका नेताहरू पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको जिकिर गरे।
अध्यक्ष दाहालले माओवादीबाट बिगतमा छुट्टिएकाहरू एकता गर्नुको विकल्प नरहेको भन्दै पार्टी एकताका लागि आइरहेको दाबी गरेका छन् ।
उनले फुटेका नेताहरु एकजुट गरी पुनः एकपटक पार्टीको नेतृत्व गर्ने आँट आफूले गरेको बताए। उनले माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न नदिने भन्दै फुटहरुलाई कार्यक्रममार्फत अन्त्य गर्ने बताए।
दाहालले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने पनि जिकीर गरेका छन् ।
अध्यक्ष दाहालले नयाँ कार्ययोजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताए।
उनले आफूले एक ढंगको विद्रोहको झण्डा उठाइसकेको दाबी गरे। उनले समाजवादको निम्ति प्रतिक्रान्तिका बिरुद्ध क्रान्तिको झण्डा उठाएको बताए।