काठमाडौं, असार ३१– सोमबार नियुक्त भएर पदबहाली गरेका मन्त्रीहरूले विभिन्न निर्णय र निर्देशन दिएका छन् । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । पदबहाली गर्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने पहिलो निर्णय गरेका हुन् । उनले शेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै अनुकूल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताए ।
यस्तै नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमलतालमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । लेखकले मन्त्री पद सम्हाल्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलमा तीन वटा सुरक्षा निकायका तीन जना, भौतिक मन्त्रालयका एक जना र सहसचिव रिजाल गरी पाँच जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।
यसैबीच नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यासर रोग निवारण रणनीति बनाउने निर्णय गरेका छन् । पदबहाली ग्रहण गर्दै उनले राष्ट्रिय क्यान्सर रणनीति (२०२४–२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका हुन् । निर्णयपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरूपता ल्याउने गरी प्रणालीको विकास गरिने बताए । यस्तै पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने निर्णयमा पनि हस्ताक्षर गरे । उनले खादा तथा माला नलगाई पद सम्हालेका छन् ।
यस्तै नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गरेका छन् । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रस्ताव पारित भएमा नेपाली उद्योगको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने बताए ।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् । पदबहाली गर्दै मन्त्री भट्टराईले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारूप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् । समितिमा शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुनेछन् । समितिले स्थानीय कृषि उत्पादनलाई दिवा खाजामा जोड्न राष्ट्रिय प्रारूप तयार गर्नेछ ।
यसैबीच नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी भने मन्त्रालयभित्रै नपसी फर्कनुपरेको छ । कर्मचारी आन्दोलनका कारण उनि मन्त्रालयमा प्रवेशी नगरी फर्कनुपरेको हो । उनले केहीबेर कर्मचारीको कुरा सुनेर प्रधानमन्त्री कार्यालयतर्फ गए । कृषि मन्त्रालयका राजपत्राङ्कित तेस्रो श्रेणाीका प्राविधिक मूलगेटमै धर्ना बसेका छन् ।