Skip

Hamro Sanchar

डीएसपी ठगबहादुर भ्रष्टाचारी ठहर, २ वर्ष कैद सजाय र साढे ८ लाख रुपैयाँ जरिवाना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २० गते


बुटवल, चैत २०- इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार अन्तिम फैसला सुनाएको हो । अदालतले केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैयाँ बिगो तथा जरिवानाको फैसला गरेको छ ।

बुटवलमा कार्यरत रहँदा डीएसपी केसीको निवासबाट अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले नगद र सुन बरामद गरेको थियो । अख्तियारले १८ लाख रुपैयाँ बिगो दाबी गर्दै उनीविरुद्ध गत भदौ १३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

२०७९ साल मंसिर २५ गते बुटवल उपमहानगरपालिका– ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका केसीले यस बारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले दाबी गरेको थियो ।

पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैसँग राखेकाे अख्तियारकाे भनाइ थियाे । त्यसक्रममा केसीले दुई जनासँग १८ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले बताएको छ ।

केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा मुद्दा दायर गरिएका बुटवलका खिलेन्द्र सिंह जिसीलाई पनि विशेष अदालतले दोषी ठहर गर्दै साढे १ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवानाको फैसला सुनाएको छ ।


प्रतिकृया दिनुहोस्