Hamro Sanchar

एकीकृत समाजवादीको समाजवादी जागरण अभियान तीन प्रदेशमा सम्पन्न, ४ हजार नेता-कार्यकर्ता पार्टी प्रवेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २१ गते


Advertisement

भैरहवा, असोज २१- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ ।

यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको हो ।

पार्टीले अवलम्बन गरेको वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण स्थानीय तहसम्म स्थापित गर्ने अभियानले ध्येय राखेको छ ।

अभियानका यस क्रममा विभिन्न जिल्लामा २८ सभा र सम्मेलन सम्पन्न भएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, छिन्नमस्त, अर्नाह, भगवान्पुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दिबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगन्ज, हेटौँडा, चितवनमा ठूला सभा सम्पन्न भएका छन् ।

अभियान अहिले लुम्बिनी प्रदेशमा पुगेको छ ।

पार्टीका शीर्षनेताहरूले सम्बोधन गरेको अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तरक्रिया, कोणसभा तथा ठूला आमसभासमेत गरिएका छन् ।

यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने अभियानले आज मणिग्राम र बुटवलमा सभा सम्पन्न गरेको छ ।

अभियानक्रममा आर्थिक, राजनीतिक, सामाजिक सुरक्षाका विषयमा जनतासँग सुझाव सङ्कलन गरिएको छन् । ती सुझावलाई समाजवादी नीति निर्माणमा समावेश गरिने उपमहासचिव खतिवडाले जानकारी दिए ।

पार्टीले सुरू गरेको समाजवादी जागरण अभियानमा अहिलेसम्म चार हजार नेता कार्यकर्ता पार्टीमा समाहित एकीकृत समाजवादीले दाबी गरेको छ।

यस्तै पार्टीले अभियानका क्रममा कोशी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका चार हजारभन्दा बढी नेता कार्यकर्ता समाहित भएका बताइएको छ ।


प्रतिकृया दिनुहोस्