Hamro Sanchar

औद्योगीकरणका लागि थप लगानी आवश्यक छ : माधव नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १६ गते


सप्तरी, असोज १६- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको औद्योगीकरणका लागि थप लगानी आवश्यक रहेकाले राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन सप्तरीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना रहेको भन्दै उनले यी क्षेत्रमा थप लगानी गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए । उनले जनतालाई सुखी जीवनको प्रत्याभूति गर्न उद्यमशीलताको सीप विकास गर्ने कौशलता पार्टीमा हुने दाबी गरे ।

उनले रोजगारी, सुशासन र समृद्धिको नारासहित आफ्नो पार्टीले समाजवादी जागरण अभियान मेचीबाट महाकालीसम्म यात्रा सञ्चालन गरिरहेको जानकारी दिए । अध्यक्ष नेपालले पार्टीका मान्यतालाई स्थापित गर्न अभियानले सहयोग गर्ने र जनअधिकार स्थापित गर्न सरकारलाई दबाब दिन बताए ।

उनले मिटर ब्याजको समस्याले गरिब जनता घरबारविहीन हुने अवस्थाको समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने धारणा राखे ।


प्रतिकृया दिनुहोस्