
काठमाडौं, भदौ २०-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगर्ने बताएका छन् ।
काठमाडौंमा खेमराज गुरुङ ट्रष्टले बुधवार आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री किराँतीले नेपालमा पछिल्लो समय केही तत्वले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको दाबी गरे ।
उनले नेपाल सबै जाति, धर्म र संस्कृतिको साझा फूलबारी रहेको भन्दै केही तत्वले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताए । उनले विगतमा राजाको पालामा साम्प्रदायिकता भड्काउने काम भए पनि त्यस्तो हुन नसकेको उल्लेख गरे ।
उनले नेपालको २०७२ को संविधानले सबै परम्परा र सांस्कृतिक मूल्य–मान्यताको संरक्षण, विकास, सम्बद्र्धन गर्ने तर आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको संस्कृतिमाथि आँच पुग्नु हुँदैन भन्ने स्पष्ट पारेको दाबी गरे ।
उनले नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्न आवश्यक रहेको बताए। मन्त्री किराँतीले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रुपमा धनी, ठूलो र सुन्दर रहेको बताए ।
संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपति, हिमाल, पहाड, तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीको मौलिकता रहेको मन्त्री किराँतीको भनाइ छ ।मन्त्री किराँतीले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा बेच्न र ब्रान्डिङ गर्न सक्नुपर्ने बताए ।
उनले संसारका मानिसलाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्न सके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै डलर आर्जन गर्न सक्ने अवस्था रहेको उल्लेख गरे ।
नेपालको जंगल, जडीबुटी र पानीलाई मात्रै सदुपयोग गर्न सके आर्थिक रुपमा धेरै माथि पुग्ने बताए । मन्त्री किराँतीले मुलुकमा गीत÷संगीत क्षेत्रबाट योगदान पुर् याउने स्रष्टालाई राज्यले सम्मान गर्ने बताए ।

















