Skip

Hamro Sanchar

चीन–भारतसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ : देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १९ गते


काठमाडौं, भदौ १९- नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन र भारत दुवैसँग नेपालले सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमत्तापूर्ण हुने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए । उनले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए ।

उनले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले कि विद्युत नै बेच्दिनँ भन्नुपर्ने नत्र भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताए। उनले भनेका कुरा नमान्ने हो भने विद्युत नकिन्ने हुँदा थोरै लचिलो भएर भए पनि देशको हितमा काम गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले भने, ‘बिजुली नेपालमा सबैभन्दा बढी छ, क्रेता को छ ? एउटै छ( इण्डिया, कि हामी बिजुली बेच्दै बेच्दैनौँ भन्नुपर्‍यो, नत्र उसको कुरा मान्नुपर्ने हुन्छ। बायरले बिजुली किन्ने हो, त्यसको कुरा सुन्नुपर्ने बाध्यता छ हामीलाई। नत्र कोही आउँदैन, बिजुली किन्दैन, हामीसँग बिजुली बढी भए पनि बिजुली उसले किन्दै किन्दैन । किन्नु त पर्ने हो नि, त्यसकारण हाम्रा केही बाध्यता र अफ्ठ्यारा छन् । हामीले सबै मिलाउनुपर्छ। चीन र भारत दुई वटा हाम्रो छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ‚ आवश्यकता छ ।

चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बदल्न सकिँदैन, उनीहरुले भनेको मान्नुपर्छ । सन्तुलन गरेर जानुपर्छ । यसमा नै हाम्रो बुद्धिमता छ ।’

सभापति देउवाले सरकार र ब्युरोक्रेसी आपसमा मिले मात्रै देश विकास गर्न सकिने बताए ।


प्रतिकृया दिनुहोस्