
काठमाडौं, असार १८- सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसबाट थापा, माओवादीबाट इन्द्र आङबोले मुख्यमन्त्रीमा दाबी गरेका थिए । अन्तिममा पहिलो कार्यकालको रूपमा कांग्रेसका थापाले मुख्यमन्त्री बन्ने अवसर पाएका छन् ।
आइतबार मात्रै प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते अपराह्न ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । तर मुख्यमन्त्री कांग्रेस वा माओवादी केन्द्र कसले लिने भन्ने विषयमा प्रदेशमा सहमति जुटिरहेको थिएन ।


















