
काठमाडौं, असार १७- नगरपालिका साथै स्थानीयवासी, खेलप्रेमी, राजनैतिक दल एवम् सरोकारवालाहरुको चौतर्फी विरोधपछि अन्ततः नेपाल क्रिकेट संघ मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन गर्ने निर्णयबाट पछि हटेको छ ।
संघको निर्णय सार्वजनिक भएलगत्तै कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र काकीले आपत्ती जनाएका थिए । उनले क्यानको निर्णय कुनैपनि हालतमा स्वीकार्य नहुने चेतावनीसमेत दिएका थिए । उनले फेसबुकमा लेखेका थिए, ‘मुलपानी क्रीकेट मैदानको नाम परिवर्तन गरि जयकुमार शाह अन्तर्राष्ट्रिय क्रीकेट मैदान रखिएको कुरा प्रति हाम्रो गम्भिर ध्यानकार्षण भएको छ! यसरी मुलपानी र कागेश्वोरी मनोहराको नाम मेटाउने प्रयास Cricket Association Of Nepal वा कोहि कसैबाट भएमा हामिलाई स्वीकार्य हुने छैन!’
नेपाल क्रिकेट संघको शुक्रवार बसेको बैठकले मैदानको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने बताएको थियो ।
क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामाकरण गरेको बताएको थियो ।




















