Skip

Hamro Sanchar

अवैध बाटो हुँदै अमेरिका पुगेका १७८ नेपाली फर्काइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १५ गते


काठमाडौं, असार १५- अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइएको छ ।

विभिन्न पाँच आर्थिक वर्षमा उनीरूलाई फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा उनीहरूलाई फर्काइएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा अमेरिका पुगेका ४५ जना पुरूष डिपोर्ट भएका थिए । २०७६/७७ मा ८१ पुरूष र २ जना महिला डिपोर्ट भएका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा २८ जना पुरूष र दुई जना महिला डिपोर्ट भएका थिए । २०७८/७९ मा १३ जना पुरूष र २०७९/८० मा ७ पुरूष डिपोर्ट भएको तथ्यांक छ ।

नेपालीहरू विभिन्न अवैध बाटोमार्फत् अमेरिका छिर्ने गरेका छन् ।

प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ ।

भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो छ । यसबाहेक दुबई, रूस र थाइल्यान्डको बाटो पनि प्रयोग गरिन्छ । जुनसुकै बाटो प्रयोग गरे पनि आखिरमा ब्राजिल पुग्नैपर्छ । त्यहाँबाट अमेरिका छिर्ने रूट एउटै हो ।

यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यानसमेत जाने गरेको पाइन्छ । पछिल्लो समय युरोप र अमेरिका छिर्ने लोभमा पनि ठूलो संख्यामा युवाहरू बेचबिखन र तस्करीमा पर्ने गरेका छन् । बिबिसी


प्रतिकृया दिनुहोस्