काठमाडौं, असार १४- साउदी अरबको जेद्दाहस्थित अमेरिकी महावाणिज्यदूतावासमा बन्दुकधारीको आक्रमणमा मारिएका नेपाली सुरक्षागार्डको परिचय खुल्न समय लाग्ने भएको छ ।
जेद्दाहस्थित नेपाली वाणिज्यदूत भुवन पौडेलका अनुसार इदको सार्वजनिक विदा भएकाले मृतकका बारेमा विस्तृत जानकारी लिन समय लागेको हो ।
पौडेलका अनुसार बुधबार साँझ पौने ७ बजे एक जना बन्दुकधारी गाडीमा अमेरिकी महावाणिज्यदूतावासमा आएका थिए ।
उनले चलाएको गोली लागेर एक जना नेपाली सुरक्षा गार्ड घाइते भएका थिए । महावाणिज्यदूतावासमा खटिएका अरू सुरक्षा गार्डले आक्रमणकारीमाथि जवाफी कारबाही गरेका थिए ।
आक्रमणकारीको मृत्यु भएको छ । घाइते नेपाली सुरक्षा गार्डको पछि मृत्यु भएको हो ।
उनको शव अहिले अस्पतालमा राखिएको छ ।
साउदीमा अहिले इदको विदा चलेकाले मृतकबारे औपचारिक जानकारी आउन समय लागेको पौडेलले बताए ।
‘हामीले यहाँको परराष्ट्र मन्त्रालय र अमेरिकी महावाणिज्य दूतलाई औपचारिक र अनौपचारिक तरिकाले जानकारी मागेका छौं,’ पौडेलले भने,‘विदा भएकाले जवाफ आउन ढिलाइ भएको छ।’
अमेरिकी महावाणिज्यदूतावासमा अरू नेपाली पनि सुरक्षा गार्डका रूपमा कार्यरत छन् ।