Hamro Sanchar

गगन थापा उद्घोष : पार्टीमा आबद्ध भ्रष्टाचारीलाई निकालेर फाल्ने हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ३ गते


काठमाडौं, जेठ ३- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आबद्ध कोहीमाथि भ्रष्टाचारलगायत केही आरोप लागेमा निलम्बन गर्ने र प्रमाणित भएमा जेल पठाइने बताएका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । खाणलाई कांग्रेसले निलम्बन गरिसकेको छैन ।

पार्टीका बैठकमा आरोप मात्रै लागेकालाई निलम्बन गर्ने परम्परा थिएन भन्दै सभापति शेरबहादुर देउवा र उनीनिकट केही नेताले निलम्बन गर्न मानिरहेका छैनन् ।

तर उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा खाणलाई निलम्बन गरेर जानुपर्नेमा छन् । शरणार्थी प्रकरणमा आरोप लागेका खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेमा केही दिनदेखि पार्टीमा बहस चलिरहेको थापा बताउँछन् ।

‘शरणार्थी प्रकरणजस्ता विभिन्न प्रकरण आइरहेका छन्। हाम्रो पार्टीका नेता पनि मुछिएका छन्। निलम्बन गर्ने कि नगर्ने बहस चलिरहेको छ। आरोपीलाई निलम्बन गर्ने र अदालतबाट पुष्टि भएमा जेल पठाउने हो,’ प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा बुधबार बोल्दै थापाले भने, ‘यो प्रकरणमा अनुसन्धान जरैसम्म पुग्नुपर्छ। जो-जो मुछिन्छ, उसलाई कारबाही गर्नुपर्छ।’

उनले कुनै पनि आरोप लागेपछि निलम्बन गरिनुपर्ने बताए ।

‘केही साथीहरूले हाम्रो पार्टीभित्र निलम्बन गर्ने परम्परा नै छैन भनिरहेका छन्। परम्पराका नाममा किन गलत कुरा बोकिरहने? तोड्ने हो,’ उनले भने ।

उनले पार्टी भ्रष्ट नहुने आबद्ध व्यक्ति भ्रष्ट हुने भएकोले पार्टीमा आबद्ध कोही भ्रष्टाचारी भए पार्टीबाट निकालिने बताए ।

‘कांग्रेसमा आबद्ध कोही कुहियो भने त्यसलाई निकालेर फाल्ने हो, अनि बल्ल पार्टी चल्छ,’ थापाले भने, ‘आरोपितलाई पार्टीबाट तुरून्त निलम्बन गरेर अलग राख्नुपर्छ र अनुसन्धान यो प्रकरणको जरैसम्म पुग्नुपर्छ।’


प्रतिकृया दिनुहोस्