Hamro Sanchar

मुलुकलाई पुन: द्वन्द्वमा फर्काउने षड्यन्त्र भयो : नेता महरा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २८ गते


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आफूहरू शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएपनि द्वन्द्वका केही घटनालाई लिएर पुनः मुलुकलाई द्वन्द्वमा फर्काउने षड्यन्त्र भइरहेको बताएका छन् ।

आइतबार माओवादी धारका नौ वटा कम्युनिस्ट पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेता महराले आफूहरू शान्ति प्रक्रियाप्रति प्रतिबद्ध रहेकाले राज्यको पुर्नसंरचनाको पक्षमा लागिरहेको बताए ।

‘यो लडाई अग्रगमन र पश्गमनबीचको लडाइँ हो । केही शाक्तिहरु राज्यको पुर्नसंरचना होइन प्रतिगमनको दिशामा मुलुकलाई लैजान चाहान्छन्’, महराले भने, ‘फेरि मुलुकलाई पछाडि धकेल्ने कि रु अग्रगमनमा लैजाने भन्ने कुरा प्रमुख विषय हो ।’उनले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रहेको मुद्दा कुनै व्यक्ति विशेषको नभएको पनि बताए ।

‘यो मुद्दा त एउटा प्रशंगमात्र हो, तर योसँग सम्बन्धित राज्यलाई अघि बढाउने कि पछि धकेल्ने भन्नेसँग जोडिएको छ’, उनले भने, ‘हामी शान्ति चाहन्छौ र शान्तिप्रति विचलित छैनौं । तर राज्यको पुर्नसंरचना हुनुपर्छ, जनतामा भएको भेदभाव मेटिने किसिमले राज्य पुर्नसंसरचना नहुने हो भने यो द्वन्द्व निम्तिरहन्छ।’

उनले आफूहरुले द्वन्द्व निम्त्याउन नचाहेको भन्दै शान्तिपूर्ण तरिकाले राज्यको पुनरसंचना होस् र जनताका समस्या सम्बोधन होउन् भन्दा षड्यन्त्रहरु हुन थालेको बताए । उनले आफूहरूलाई जनताको विश्वास र समर्थन रहेकाले त्यस्ता षड्यन्त्रहरु परास्त गरिने विश्वास व्यक्त गरे ।


प्रतिकृया दिनुहोस्