काठमाडौं । डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा भोट नदिन मतदाताहरू समक्ष आह्वान गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरूलाई भोट नदिन आग्रह गरेका हुन् ।
उनले शीर्ष नेताहरूले देश र जनतालाई धोका दिएको उल्लेख गरेका छन्। शीर्ष नेताहरूले राजनीतिलाई भ्रष्टीकरण र आपराधिकरण गरेको उनले आरोप लगाए । शीर्ष नेताहरूले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकाहरूलाई चुनावमा उम्मेदवार बनाएर इमानदारिताको राजनीति गर्नेहरूलाई पाखा लगाएको डा.केसीले बताएका छन् ।
डा। केसीले पुरानै नेताहरूको हालिमुहालीका कारण देश विगत ५ वर्षमा दशौँ वर्ष पछाडि धकेलिएको उल्लेख गरेका छन् । उनले आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदाताहरूलाई आग्रह गरेका छन् ।
उनले सबै पार्टीमा राम्रो नेताहरू पनि भएकाले राम्रो नेतालाई मात्रै छानेर भोट दिन आग्रह गरे । उनले नेपाली जनताहरू नेतृत्वबाट ठगिएका जिकिर गरेका । नेपालमा भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेका कारण आर्थिक प्रगति हुन नसकेको उनको भनाइ छ ।