काठमाडौं साउन १२- अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले प्रतिवेदन तयार गरको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।
बैठकले शुक्रबार सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउने भएको छ ।
प्रमुख प्रतिपक्षी एमालेले समितिलाई प्राप्त प्रमाण र बयानका आधारमा शर्मालाई निर्दोष भन्न नमिल्ने अडान राखेको छ भने सत्ता पक्षका सांसद प्राप्त प्रमाण र बयानले शर्माविरूद्धको आरोप प्रमाणित नगर्ने भएकाले उनी निर्दोष रहेको बताएका छन् ।
करका दर हेरफेरका विषयमा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानविन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो ।
सुरुमा १० दिनको कार्यावधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो । समितिको म्याद आज सकिएको छ ।