Skip

Hamro Sanchar

कागेश्वरीलाई बदल्ने पाँच प्राथमिकता, नगर प्रमुख कार्कीले यसरी सुनाए प्रगति

‘चुनावी प्रतिबद्धता पूरा गर्न सफल भएका छौँ’ : नगर प्रमुख कार्की

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १२ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले निर्वाचनका बेला नगरवासीसँग गरेका प्रमुख प्रतिबद्धता कार्यान्वयन गर्न आफू सफल भएको बताएका छन्। सीमित स्रोत र साधनका बाबजुद स्वास्थ्य, शिक्षा, खानेपानी, व्यवस्थित बस्ती विकास र डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा नगरपालिकाले विकास र सेवा प्रवाहका विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका हुन्।

नगर प्रमुख कार्कीका अनुसार स्थानीय सरकार भनेको जनतासँगै रहेर उनीहरूका आवश्यकता र समस्यालाई सम्बोधन गर्दै काम गर्ने सरकार हो। यही मान्यताअनुसार आफूले निर्वाचनका बेला पाँचवटा मुख्य प्राथमिकता निर्धारण गरेर काम अघि बढाएको उनले बताए।

नेपाली नेटवर्कलाई अन्तर्वार्ता दिने क्रममा उनले भने, “हामीले निर्वाचनका बेला जनतासँग स्वास्थ्य, शिक्षा, खानेपानी, व्यवस्थित बस्ती विकास र डिजिटलाइजेसनसहित खेलकुद नगरी निर्माण गर्ने प्राथमिकता राखेका थियौँ। ती प्रतिबद्धता कार्यान्वयनका दृष्टिले हामी पूर्ण रूपमा सफल भएका छौँ।”

साढे दुई अर्बको खानेपानी आयोजना अन्तिम चरणमा

नगर प्रमुख कार्कीले नगरवासीका घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने प्रतिबद्धतालाई प्राथमिकतामा राखेर करिब साढे दुई अर्ब रुपैयाँ लागतको खानेपानी आयोजना सम्पन्न गर्ने चरणमा पुर्‍याइएको बताए।

निर्वाचनका बेला नगरपालिकाभित्रका सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने जिम्मेवारी लिएको स्मरण गर्दै उनले त्यसलाई मूर्तरूप दिन आवश्यक लगानी र समन्वयका साथ काम अघि बढाइएको उल्लेख गरे।

खानेपानीलाई नागरिकको आधारभूत आवश्यकताका रूपमा लिँदै नगरपालिकाले दीर्घकालीन समाधानका लागि ठूलो लगानीको आयोजना अघि बढाएको उनको भनाइ छ।

शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार

शिक्षा क्षेत्रको सुधारलाई अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्दै नगर प्रमुख कार्कीले सामुदायिक विद्यालय तथा सामुदायिक कलेजहरूको शैक्षिक गुणस्तर र व्यवस्थापनमा उल्लेख्य सुधार गरिएको बताए।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा नगर अस्पतालसहित नगरभित्रका स्वास्थ्य संस्थाहरूको सेवा विस्तार र विविधीकरण गरिएको उनको भनाइ छ। नागरिकले सामान्य उपचारदेखि विशेषज्ञ स्वास्थ्य सेवासम्म सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले नगर अस्पताललगायत स्वास्थ्य संस्थालाई मिनी अस्पतालका रूपमा विकास गर्ने अवधारणाअनुसार काम भइरहेको उनले बताए।

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने र नगरभित्रै गुणस्तरीय उपचारको व्यवस्था गर्ने लक्ष्यसहित स्वास्थ्य पूर्वाधार तथा सेवाको विस्तारलाई निरन्तरता दिइएको उनको भनाइ छ।

नापी र मालपोत सेवादेखि डिजिटल नगरपालिकासम्म

सुशासन र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकालाई डिजिटल प्रणालीतर्फ अघि बढाइएको नगर प्रमुख कार्कीले बताए।

उनका अनुसार कागेश्वरी मनोहरा देशमै स्थानीय तहबाट नापी तथा मालपोत सेवा सञ्चालन गर्ने पहिलो नगरपालिकाका रूपमा स्थापित भएको छ। यसबाट जग्गासम्बन्धी कामका लागि अन्यत्र धाउनुपर्ने नागरिकको बाध्यता कम भएको छ।

त्यस्तै, एकीकृत सेवा प्रवाह प्रणाली सञ्चालन, राजस्व वृद्धि तथा विभिन्न प्रशासनिक सेवालाई सहज र व्यवस्थित बनाउने काममा समेत सफलता प्राप्त भएको उनले बताए।

नगरपालिकाबाटै नागरिकले बढीभन्दा बढी सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउनु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै कार्कीले प्रविधिको प्रयोगमार्फत स्थानीय सरकारलाई नागरिकमैत्री बनाउने प्रयास जारी रहेको बताए।

मुलपानीलाई अन्तर्राष्ट्रिय क्रिकेटको केन्द्र बनाउने प्रयास

खेलकुद पूर्वाधार र अन्तर्राष्ट्रिय पहिचानका दृष्टिले पनि कागेश्वरी मनोहराले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको नगर प्रमुख कार्कीको भनाइ छ।

नगरपालिकाभित्र रहेको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त भेन्युका रूपमा विकास गर्न सफल भएको उनले बताए।

उनका अनुसार यही मैदानमा आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता आयोजना हुने वातावरण निर्माण गर्नसमेत नगरपालिका सफल भएको छ। यसले कागेश्वरी मनोहरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमा थप परिचित गराउने विश्वास उनको छ।

क्रिकेट मैदानको विकाससँगै नगरपालिकाभित्र अन्य खेलकुद पूर्वाधार निर्माणलाई पनि क्रमिक रूपमा अघि बढाइएको उनले बताए। खेलकुदका विभिन्न पूर्वाधार विकास गर्दै कागेश्वरी मनोहरालाई ‘स्पोर्ट्स सिटी’ का रूपमा स्थापित गर्ने प्रयासमा नगरपालिका आंशिक रूपमा सफल भएको उनको भनाइ छ।

विकास निरन्तर प्रक्रिया हो : नगर प्रमुख कार्की

आफ्नो कार्यकालको मूल्यांकन गर्दै नगर प्रमुख कार्कीले सीमित स्रोत र साधनका बीच नगरवासीले अपेक्षा गरेका विकास तथा सेवा प्रवाहका कामलाई प्राथमिकताका साथ अघि बढाउन सकेको बताए।

उनले भने, “सिमित स्रोत र साधनका बीच यो समयभित्र गर्नुपर्ने डेलिभरी पूर्ण रूपमा गर्न सकेका छौँ। तर सबै कुरा पूर्ण भइसकेको छ भन्ने होइन। विकास भनेको नियमित प्रक्रिया हो। यसलाई अझ सशक्त बनाएर आगामी दिनमा अघि बढाउनु आवश्यक छ।”

उनका अनुसार स्थानीय सरकारको सफलता ठूला योजनाको घोषणामा मात्र नभई नागरिकले दैनिक जीवनमा अनुभूति गर्ने सेवा, सुविधा र परिवर्तनमा निर्भर हुन्छ।

स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, डिजिटल सेवा प्रवाह, व्यवस्थित बस्ती विकास र खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढाइएको विकास अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउने नगर प्रमुख कार्कीको प्रतिबद्धता छ।

समग्रमा कागेश्वरी मनोहराले भौतिक पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, प्रशासनिक सेवा र खेलकुदका क्षेत्रमा अघि सारेका योजनालाई संस्थागत गर्दै लैजाने प्रयास गरिरहेको छ। नगरपालिकाले हासिल गरेका उपलब्धिलाई दिगो बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकासलाई निरन्तरता दिनु अबको मुख्य चुनौती र आवश्यकता देखिन्छ।


प्रतिकृया दिनुहोस्