Skip

Hamro Sanchar

कागेश्वरी मनोहरामा एकैपटक चार ठूला आयोजना अघि बढ्दै, निर्माणका लागि बोलपत्र आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ७ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रका चारवटा ठुला र महत्वपूर्ण पूर्वाधार आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। नगरपालिकाले सडक निर्माण, स्वास्थ्य पूर्वाधार तथा अन्य विकास निर्माणका कामलाई अघि बढाउने उद्देश्यसहित निर्माण व्यवसायीबाट विद्युतीय माध्यममार्फत बोलपत्र माग गरेको हो।

नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार वडा नं. ३ र ४ जोड्ने ब्रह्मखेल–सुसेली चौर–माझबाटो हुँदै ब्रह्मखेल सडक निर्माण, वडा नं. ९ स्थित गोठाटार स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भवन निर्माण, वडा नं. ४ को चम्पक विनायक–बागमती सडक निर्माण तथा वडा नं. ९ को खहरे क्षेत्रमा पूर्वाधार निर्माणका काम अघि बढाउन लागिएको छ।

आह्वान गरिएका आयोजनामध्ये गोठाटार स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भवन निर्माणका लागि ५५ लाख ९९ हजार ७५४ रुपैयाँ ५३ पैसा लागत अनुमान गरिएको छ। त्यस्तै, वडा नं. ४ को चम्पक विनायकदेखि बागमती सडक निर्माणका लागि ९९ लाख ९९ हजार ९७५ रुपैयाँ ९९ पैसा र वडा नं. ९ को खहरे क्षेत्रमा पूर्वाधार निर्माणका लागि ९९ लाख ९९ हजार ३३६ रुपैयाँ ४५ पैसा लागत अनुमान गरिएको सूचनामा उल्लेख छ।

त्यसैगरी, वडा नं. ३ र ४ मा पर्ने ब्रह्मखेल–सुसेली चौर–माझबाटो हुँदै ब्रह्मखेल सडक निर्माणका लागि पनि बोलपत्र आह्वान गरिएको छ।

सूचनाअनुसार ब्रह्मखेल सडक निर्माणका लागि साढे ७ लाख रुपैयाँ, गोठाटार बर्थिङ सेन्टर भवन निर्माणका लागि १ लाख ४० हजार रुपैयाँ तथा अन्य दुई आयोजनाका लागि जनही २ लाख ५० हजार रुपैयाँ बोलपत्र जमानत रकम तोकिएको छ।

सबै आयोजनाको बोलपत्र प्रक्रिया विद्युतीय प्रणालीमार्फत सञ्चालन हुने नगरपालिकाले जनाएको छ। इच्छुक निर्माण व्यवसायीले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp तथा नगरपालिकाको आधिकारिक वेबसाइट www.kageshworimanoharamun.gov.np मार्फत विस्तृत विवरण प्राप्त गर्न सक्नेछन्।

यी आयोजनाहरू कार्यान्वयनमा आएपछि नगर क्षेत्रको सडक पूर्वाधार सुधार, स्वास्थ्य सेवा विस्तार तथा स्थानीय पूर्वाधार विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिकृया दिनुहोस्