Skip

Hamro Sanchar

सुदूरपश्चिमलाई बधाई दिँदै बालेनको घोषणा : आठै टोलीका लागि फ्लडलाइटयुक्त रंगशाला बन्नेछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ५ गते


Advertisement

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री बालेन शाहले नेपाली क्रिकेटका लागि ठूलो पूर्वाधार योजना सार्वजनिक गरेका छन्।

बालेनले फेसबुकमार्फत एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित आठवटै फ्रेन्चाइज क्लबका लागि आफ्नै फ्लडलाइटयुक्त क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गरेका हुन्।

रंगशाला निर्माणको जिम्मेवारी नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले लिनेछ।

सुदूरपश्चिम रोयल्सको घरेलु मैदान फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र अन्य रंगशालाको प्रक्रिया पनि अघि बढाइने जनाइएको छ।

योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गरिनेछ।

क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार रहेको उल्लेख गर्दै बालेनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने योजनासमेत अघि सारेका छन्।


प्रतिकृया दिनुहोस्